क्यानबेरा– अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूलाई फेरि निर्वाचित गराएमा औषधिको मूल्य घटाउने बताएका छन्।
सन् २०२३ देखि औषधिको मूल्य कम हुनेगरि अहिले आफूले गृहकार्य गरिरहेको र आफू फेरि निर्वाचित भएमा त्यो लागू गर्न सक्ने मोरिससको दाबी छ। आफूभन्दा अर्को व्यक्ति निर्वाचित भएमा त्यो व्यवस्था लागू गर्न सक्ने वा नसक्ने भन्न नसकिने उनको भनाइ छ।
आफू फेरि पनि प्रधानमन्त्रीमा निर्वाचित भएमा औषधिको खर्च घटाउने काम मुख्य हुने उनले बताए। औषधिमा सरकारी अनुदान बढाउँदै उत्पादक तथा बिक्रेताहरूलाई नाफा घटाएर उपभोक्ताका लागि औषधिको मूल्य घटाउन सकिने उनको भनाइ छ।
अस्ट्रेलियामा आगामी मे २१ मा नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको छ। त्यसका लागि अहिले निर्वाचन प्रचार प्रसारको काम तीब्र रुपमा भइरहेको छ।
अस्ट्रेलियामा अहिले प्रधानमन्त्री नेतृत्वको सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी लेबर पार्टीका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
दुवै पक्षले आफूलाई बलियो देखाउने र अर्कोलाई कमजोर देखाउने गरी आलोचनात्मक टिप्पणी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।