काठमाडौं– गोलरक्षक विकेश कुथु राष्ट्रिय टिमको प्रशिक्षणमा नजाने भएका छन्।
आसन्न एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार विकेशसहित १७ जना नयाँ खेलाडी थप गरेका थिए।
तर, कुथुले सामाजिक सञ्जालमार्फत् आफू प्रशिक्षणमा सहभागी नहुने जानकारी दिएका हुन्। खेलाडीको जायज मागप्रति समर्थन जनाउँदै आफू सहभागी नहुने उनले लेखेका छन्।
उनले लेखेका छन्, ‘हाल राष्ट्रिय टोलीमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु। साथै विगतमा म पूर्ण फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत् नै छ। तसर्थ मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथीहरुको जायज मागप्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।