काठमाडौं– कथा, प्रविधि र अभिनय। एउटा फिल्म राम्रो बन्न चाहिने प्रमुख 'विषयवस्तु' हुन्। र यी विषयवस्तुको सम्पूर्णता भएका फिल्महरुको सूचीमा निकै कम फिल्महरु पर्छन्। २००९ मा प्रदर्शनमा आएको ‘अवतार’ फिल्म पनि तीमध्ये एक हो।
१३ वर्षअघि प्रदर्शनमा आएको उक्त फिल्मलाई जेम्स केमरोनले निर्देशन गरेका थिए। त्यत्ति बेला २८ अर्ब ९४ करोड (२३७ मिलियन अमेरिकी डलर)भन्दा धेरैको बजेटमा उक्त फिल्म निर्माण गरिएको थियो। साइन्स फिक्सन विधालाई आधार मानेको उक्त फिल्म भीएफएक्स, निर्देशनदेखि कथा हरेक दृष्टिकोणबाट उत्कृष्ट थियो। त्यसैले त उक्त फिल्मले प्रदर्शनबाट ३ खर्ब ४७ अर्ब ७२ करोडभन्दा धेरैको आम्दानी गरेको थियो। यो आम्दानीसहित फिल्म हालसम्मकै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म मध्येमा पर्छ।
२००९ मा प्रदर्शनमा आएको अवतारको सिक्वेल यो वर्ष प्रदर्शनमा आउँदै छ। ‘अवतारः द वे अफ वाटर’ नाम दिइएको यो सिक्वेलमा फिल्मको निर्माण पक्ष वर्षौदेखि काम गरिरहेको छ। पुरानै फिल्मका निर्देशक जेम्स केमरोनको निर्देशनमा बनेको यो फिल्म यही वर्ष डिसेम्बर १६ मा प्रदर्शन हुने घोषणा गरिएको छ।
फिल्मको पहिलो भागले पाएको चर्चा र गरेको आम्दानीले इतिहास रचिरहँदा यसपटक फिल्मको सिक्वेल ‘अवतारः द वे अफ वाटर’ बन्न लागेको बजेटले पनि इतिहास रचिरहेको छ। फिल्म निर्माणको कूल बजेट सामान्यतयः उत्कृष्ट भनिएका फिल्मले आम्दानी गर्ने रकमभन्दा पनि कैयौं गुणा धेरै छ।
‘अवतारः द वे अफ वाटर’ निर्माणका लागि निर्माण पक्षले ३० अर्ब ५३ करोड ४४ लाख ५० हजार रुपैयाँ अर्थात् २५० मिलियिन अमेरिकी डलर रकम खर्च गरेको छ।
डिसेम्बरमा प्रदर्शनमा आउने ‘अवतारः द वे अफ वाटर’मा सेम वोर्दिङटन, जोइ साल्डाना, सिगौरने विभेर, स्टेफेन ल्याङ्ग, भेन डिजेल लगायतका कलाकारको अभिनय रहेको छ।
यो फिल्म प्रयोगहरुले पनि भरिएको छ। फिल्मका सबै दृश्यहरुलाई पानीमुनि खिचिएको निर्माण पक्षले जनाएको छ। निर्देशक केमरुनले निर्माण गरेको विज्ञानको अलौकिक दुनियाँ र त्यसभित्र रहस्यले भरिएका कथाहरु भएको फिल्मले प्रदर्शनमा आउन कैयौं महिना बाँकी रहँदै दर्शकको मन जित्ने 'पक्का पक्की' भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।