काठमाडौं– दुई किलोभन्दा बढी सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विमानस्थलका सफाइ कर्मचारी समेत छन्।
नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले सुरुमा पाँचथरको याङवरक गाउँपालिका–४ का २८ वर्षीय भीमकुमार माबोल र नुवाकोटको तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङलाई सुनसहित पक्राउ गरेको थियो। दुवै जना सुनगाभा सप्लायर्स एण्ड प्रालिमार्फत् विमानस्थलको सरसफाइमा खटिएका कर्मचारी हुन्।
दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानभित्र उनीहरु बिहीबार सरसफाइका लागि गएका थिए। जसमध्ये माबोले बिमानको शौचालय भित्र फोहरसँगै रहेको सुनको विस्कुटहरु बाहिर ल्याइ फोहोर जम्मा गर्ने स्थानमा आएर तामाङलाई दिएका थिए। उक्त बिस्कुटहरु उनीहरुले बाँडेर आ–आफ्नो पर्समा राखेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा स्क्रीनिङ गर्दा उनीहरुसँग सुन भएको पत्ता लागेको थियो ।
माबोले बोकेको पर्सभित्र टेपले बेरिएको सुनको बिस्कुट थान–१० (तौल १ हजार १६६ ग्राम) र तामाङले बोकी आएको पर्स भित्र टेपले बेरिएको सुनको बिस्कुट थान–१० (तौल १ हजार १६६ ग्राम) बरामद भएको विमास्थल प्रहरीका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
उनीहरु दुबै जनालाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक वर्ष ४१ का हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत् विमान भित्र सरसफाइ गर्ने/गराउने भनी सुपरभाईजरको रुपमा ड्युटीमा खटिएका सप्तरीको सुरुङ्गा नगरपालिका–४ का ३६ वर्षीय ताराकान्त चौधरी समेतको संलग्नता रहेको खुलेको ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।