काठमाडौं– आजबाट नेपाली सिनेमा हलमा नेपाली फिल्म ‘मन्त्र’सँगै अन्य तीन फिल्म प्रदर्शनमा आएका छन्। हलमा हिन्दी फिल्म ‘हिरोपन्ती’ र ‘रनवे’ तथा एनिमेटेड फिल्म ‘द ब्याड गाइज’ पनि प्रदर्शनमा आएको छ।
खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म मन्त्र नेपालको हिमाली भेगमा खिचिएको फिल्म हो। फिल्ममा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा छन् भने बुद्धि तामाङलगायतका कलाकारको पनि फिल्ममा अभिनय छ। फिल्ममा हिमाली क्षेत्रमा रहिआएको परम्परालाई आधार मानेर कथा प्रस्तुत गरिएको छ।
त्यस्तै, हिन्दी फिल्म ‘हिरोपन्ती’ टाइजर श्रोफको मुख्य अभिनय भएको फिल्म हो। फिल्ममा श्रोफसँगै तारा सुतरिया, कृति सेनन र नवाजुद्धिन सिद्धिकी मुख्य भूमिकामा देखिएका छन्। यो फिल्म २०१४ मा प्रदर्शनमा आएको ‘हिरोपन्ती’को सिक्वेल हो। फिल्मलाई अह्मद खानले निर्देशन गरेका छन्।
आजबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘रनवे ३४’ अजय देवगणको बहुप्रतिक्षित फिल्म हो। पाइलट र एभिएसनको विषयलाई आधार मानेर बनाइएको यो फिल्म निकै चर्चामा पनि छ। अभिनेता देवगणकै निर्देशनमा बनेको यो फिल्ममा अमिताब बच्चन, आकाक्षा सिंह, रुकुल प्रित सिंहलगायतका कलाकारको अभिनय छ।
यता एनिमेटेड फिल्म ‘द ब्याड गाइज’ ड्रिमवर्कस एनिमेसनले निर्माण गरेको फिल्म हो। यो फिल्म एसोन ब्लाबेको पुस्तक द ब्याड गाइजमा आधारित छ। फिल्मलाई पेरि पेरिफेलले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।