काठमाडौं–३० वर्षे सेवा अवधिका कारण यही वैशाख १८ गते अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आर्थिक प्रशासनका हिसाबमा आफ्नो कार्यालय पारदर्शी रहेको बताएका छन्।
बुधबार जागिरे अवधिको उत्तरार्धमा सञ्चारकर्मीसँग प्रहरी मुख्यालयमा अन्तर्क्रिया गर्दै क्षेत्रीले यस्तो बताएका हुन्। उनले भने, ‘भन्दा तपाईंहरु पत्याउनु हुन्न होला। आईजीपी हुँदा जस्तो अवस्थामा थिएँ, त्यही अवस्थामा बिदा हुँदैछु।’
‘सुरुवाती दिनमा आईजीपी भएपछि कतै घमण्ड पलाउला कि भन्ने डरसमेत लागेको थियो। तर त्यही कुनै घमण्ड भए पनि पलाएजस्तो मलाई लागेन’ क्षेत्रीले थपे ।
प्रहरीमा राजनीतिक हस्तक्षेपबारे राखिएको जिज्ञासामा सटिक उत्तर दिँदै थापाले भने, ‘संगठन दुई तरिकाले चल्छ, एक्सटर्नल र इन्टर्नल। हाम्रोजस्तो मुलुकमा आईजीपी पद भनेको एक्सटर्नल इन्भाइरोमेन्टको म्यानेजमेन्ट गर्ने रैछ।’
उक्त सांकेतिक उत्तरलाई केही प्रष्ट पार्दै थापाले भने, ‘सूर्य पूर्वबाट उदाउँछ यो सत्य हो। अब आफ्नो कोठामा घाम कति छिराउने वा नछिराउने त्यो अनुसार पारदर्शी पर्दा राख्ने र कालो राख्ने भन्न म्यानेजमेन्टचाहिँ आईजीपीले गर्नुपर्छ।’
सूर्य उदाउने कुरालाई रोक्न नसके पनि त्यसको प्रकाशलाई भने रोक्न सकिने भनेर उनले राजनीतिलाई सूर्यसँग तुलना गरेर घुमाउरो उत्तर दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।