काठमाडौं– सरकारले जेठ १ गतेदेखि लागू हुने गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को वैशाख १३ गतेको बैठकले सो निर्णय गरेको हो।
कार्यालय समय पनि बिहान ९:३० देखि ५:३० सम्म कायम गरिने भएको छ।
'हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजे साँझ ५:३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने', मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको बेला पेट्रोलियम पदार्थको आयात तथा उपभोग घटाउन सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ।
यसअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा विसं २०५६ साउन १ गतेबाट दुई दिन सार्वजनिक बिदा दिन सुरु गरिएकोमा २ वर्षपछि उक्त निर्णय रद्द गरिएको थियो।
बैठकले सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डीआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।