काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज (बैशाख १३) देखि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। सो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। निष्कासन बन्द छिटोमा बैशाख २७ गते हुनेछ र ढिलोमा जेठ ११ गते हुनेछ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ।
लगानीकर्ताले सिद्धार्थ बैंकको बेँसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेँसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।