काठमाडौं– साताको दोस्रो दिनको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। आइतबारको कारोबारमा करिब १०० अंकले बढेको नेप्से सोमबार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१३ अंकले घटेको छ। सोमबार कारोबारमा आएका २३९ कम्पनीको ५० लाख ४७ हजार कित्ता शेयर २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत गिरावट आएको छ।
नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमा होटल तथा पर्यटन ०.१३ प्रतिशत र म्युचुअल फण्ड ०.८२ प्रतिशतले बढेको छ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत र विकास बैंक उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ। बैंकिङ, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि जाल्पा लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयरमूल्य ५.३३ प्रतिशत घटेको छ। रसुवागढी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सामलिङ्ग पावर, हिमालयन उर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
कारोबार रकमका आधारमा ८ करोड ११ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। शिवम् सिमेन्ट्को ६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।