फाइल तस्बिर काठमाडौं– १९औं एसियाली खेलकुदका लागि कराते खेलको छनोट यही वैशाख १५ गतेदेखि हुने भएको छ।
नेपाल कराते महासंघले शुक्रबार सुचना जारी गर्दै चितवनको भरतपुरमा वैशाख १५ तीन दिन बृहत खुल्ला छनोट प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो।
एसियन गेम्स चीनको होन्झोउमा सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुँदैछ।
शुक्रबार नेपाल खेलकुद परिषद् (राखेप)ले नेपालले एसियन गेम्समा सहभागिता जनाउने २३ खेलको टुंगो लागेको छ। त्यस निर्णयपछि कराते महासंघले पनि छनोट प्रतियोगिता गर्न लागेको हो।
छनोटमा पुरुष र महिलाको ५-५ तौल समूह र महिला र पुरुषमा एकल कातामा प्रतिस्पर्धा गराइने महासंघले जनाएको छ।
यस्तै, महासंघका अनुसार साफ गेम्स पदक प्राप्त भइसकेका खेलाडी, विश्व कराते महासंघ (WK) को प्रतियोगितामा सहभागी खेलाडी, एयन कराते महासंघ (AKF) को प्रतियोगितामा सहभागी खेलाडी, १३औं साफ गेम्समा बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीहरू, छैटौंदेखि आठौं खेलकुदसम्म पदक प्राप्त खेलाडीहरू सहभागी हुन पाउने छन्।
यस्तै, प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक प्राप्त खेलाडीहरू, गणेशमान सिंह फाउण्डेशनको राष्ट्रिय कराते प्रतियोगितामा पदक प्राप्त खेलाडीहरु, नेपाल कराते महासंघद्वारा आयोजित गौतम बुद्ध ४८औं राष्ट्रिय कराते प्रतियोगिता पछि र हालसम्मका राष्ट्रिय कराते ५०औं राखेप प्रतियोगितासम्म पदक प्राप्त गरेका खेलाडीले पनि प्रतिस्पर्धा गर्न पाउने जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।