काठमाडौं-गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णाय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ३६ खेलको प्रतियोगिता र २ प्रदर्शनी खेलसहित ३८ खेल नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको जानकारी दिए।
आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा भएका ३५ खेललाई निरन्तरता दिँदै रग्बी सेभेन ए साइड थपिएको छ। प्रदर्शनी खेलमा ठेलो र क्यानोइङ छन्। राखेपको बोर्ड बैठक शुक्रबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको थियो। २०७५ सालपछि राखेपको बोर्ड बैठक पहिलोपटक बसेको हो ।
सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८ सय खेलाडी, १ हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघका प्रतिनिधि र १ हजार निर्णायक सहभागी हुने जानकारी दिए।
त्यस्तै, चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने छ। त्यसमा अनुमानित १ सय ५० खेलाडी, २८ प्रशिक्षक र २० व्यवस्थापक सहभागी हुनेलगायतका निर्णय बोर्ड बैठकले गरेको छ। नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।