काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी जाँचबुझ समितिले वैशाख ४ गतेबाट जाँचबुझको काम अगाडि बढाएको छ। अधिकारीलाई निलम्बन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएर स्वतः निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त समितिले जाँचबुजको काम थालेको हो।
यता गभर्नर अधिकारीले अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अधिकारीले विनाजानकारी र विनास्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै उक्त निर्णय खारेजीको माग रिट निवेदनमा गरिएको छ। अधिकारीले दर्ता गरेको रिटको सुनुवाइ मंगलबार हुनेछ।
राष्ट्र बैंक ऐनको प्रावधान अनुसार ‘जाँचबुझ समितिले जाँचबुझ गरी आफ्नो राय ठहरसहितको सिफारिस सरकार समक्ष पेस गर्नुभन्दा अघि गभर्नरसँग बयान लिन वा सोधपुछ गर्न सक्नेछ’ भन्ने ब्यवस्था उल्लेख छ।
ऐन अनुसार, जाँचबुझ समितिले राय ठहरसहितको आफ्नो सिफारिस एक महिनाभित्र सरकारसमक्ष पेस गर्नुपर्छ। सरकारले ११ दिनअघि नै गभर्नरलाई निलम्बन गरिसकेको भए पनि जाँचबुझ समितिले आइतबारबाट मात्र काम थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।