काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसनले सवारी आयातका लागि एलसी खोल्न बैंकले गरिरहेको अवरोध हटाउन आग्रह गरेको छ। नाडा पदाधिकारीले आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै उक्त आग्रह गरेको हो। नाडाका अध्यक्ष धुव्र थापा नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेटी सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो।
सो अवसरमा मन्त्री शर्माले निजी सवारीसाधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नआत्तिन सुझाव दिए । उनले भने, ‘अहिले देशको अर्थतन्त्र दबाबमा छ । यसवेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने वेला हो । निजी सवारीसाधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउनुहोला। यो केही समयका लागि मात्र हो।’
अर्थतन्त्रबारे अनावश्यक टिप्पणी भइरहेको भन्दै मन्त्री शर्माले सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको बताएका थिए। अहिले अर्थतन्त्रका नाममा राजनीतीकरण भइरहेको र यो गलत रहेको उनको भनाइ थियो। सो अवसरमा नाडा प्रतिनिधिहरूलाई संस्थागत ढंगले नै अर्थतन्त्रको वास्तविक अवस्थाबारे प्रकाश पार्न पनि उनले आग्रह गरेका थिए।
नाडाका अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्यांक प्रस्तुत गर्दै सवारीसाधन व्यवसायमा तीन खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको र हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पु¥याउँदै आएको बताए। सो क्षेत्रले हाल ९८ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर दिएको उनको भनाइ छ।
अध्यक्ष थापाले प्रतीतपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरूले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।