काठमाडौं– इन्ज्युरी समयमा कप्तान करिम बेन्जेमाको गोलमो रियल मड्रिडले जित हात पारेको छ। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियलले सेभियामाथि सानदार पुनरागमन जित निकालेको हो।
दुई गोलले पछि परेको अवस्थामा रियलले घरेलु टोलीमाथि ३–२ को पुनरागमन जित निकालेको हो। रोमन सान्चेज पिजुआन सेभियामा सम्पन्न खेलमा रियलको जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल गरे। घरेलु टोली सेभियाका इभान राकिटिच र एरिक लमेलाले गोल गरे।
खेलको २१औं मिनेटमा इभान राकिटिचले फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाए। २५औं मिनेटमा एरिक लमेलाले जेसस कोरोनाको पासमा गोल गरेपछि रियल पहिलो हाफमा २–० ले पछि परेको थियो।
खेलको ५०औं मिनेटमा रोड्रिगोले ड्यानी कार्भाजलको पासमा गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए। ८२औं मिनेटमा नाचो फर्नान्डेसले कार्भाजलकै पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई जित दिलाए । उनले रोड्रिगोको पासमा गोल गरेका थिए।
यो जितसँगै रियलले यो सिजनको ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ। रियलले दोस्रो स्थानको टोलीलाई १५ अंकले पछि पारेको छ। रियलको ३२ खेलबाट ७५ अंक पुगेको छ।
दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।