काठमाडौं– वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो वर्षको वसन्त याममा विश्वका विभिन्न मुलुलका ८४ समूहका ६८९ जनाले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्।
आरहेण अनुमति लिनेमध्ये सबैभन्दा धेरै सगरमाथाका चढ्ने रहेका छन्। यस वर्ष (सन् २०२२) को वसन्त याममा सगरमाथा आरोहणका लागि ३१ समूहका २५० जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीले अनुमति दिएका छन्। सोबाट रु ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ।
सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि नेपालसहित ६५ देशका आरोहीले अनुमति लिएको विभागको भनाइ छ।
यस यामको सगरमाथा आरोहणका लागि स्वदेशी तथा विदेशी आरोही धमाधम आरोहण अनुमति लिएर गन्तव्यतिर निस्किरहेका छन्। अहिलेसम्म सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै ३१ समूहका २५० आरोहीले अनुमति लिएका छन्।
यस्तै, माउन्ट ल्होत्से (८५१६ मिटर) आरोहणका लागि नौ समूहका ६४ आरोहीले अनुमति लिएका छन् भने अमादब्लम (६८१४ मिटर) आरोहणका लागि ६ समूहका ६५ आरोहीले अनुमति पाएका छन्। कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि ५ समूहका ६१ आरोहीले अनुमति लिएका छन्। नुस्से (७८५५ मिटर) मा ५ समूहका ३८ आरोही छन्।
त्यसैगरी अन्नपूर्ण (८०९१ मिटर) आरोहणा लागि ४ समूहका २६, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन्। मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।