काठमाडौं– बैंकिङ प्रणालीमा तरलताको चाप कायमै रहेकाले केही समय धैर्य गर्नुपर्ने नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले बताएकी छन्।
सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा सहभागी कामु गभर्नर ढुंगानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन्।
बैंकिङ क्षेत्रमात्रै नभएर लघुवित्तामा समेत तरलता र ब्याजदरको समस्या रहेको उनले बताइन्। तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्रमै असर परेकोले र जनताले महँगीको पीडा भोग्नु परेको ढुंगानाले दाबी गरिन्।
व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने उनले बताइन्। नेपालको गरिवी निवारण तथा वित्तीय पँहुचभन्दा बाहिर रहेको समुदायको विकासमा लघुवित्त संस्थाहरु प्रभावकारी साधन भएको उनको भनाइ छ।
कामु गभर्नर ढुंगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसख्याको १८ प्रतिशत हिस्सा गरिवीको रेखामुनि रहेको उनले बताइन्। लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।