काठमाडौं– 'तीनपाते'बाट चिनिएका गायक सुजनका पछिल्ला गीत उतिकै मनप्रिय छन्। यतिबेला उनको स्वर र संगीतमा नयाँ गीत 'घुमी घुमी' युट्युबमा लोकप्रिय बन्दै गइरहेको छ।
सुजन र गायिका शान्तिश्री परियारको युगल आवाजको गीतका शब्द यसरी बगेका छन्-
सुस्ताइ सुस्ताइ चढ्यो, उकालीको बाटो
बोकी आउनु एक मुठ्ठी माया, रित्तै आउनु साटो
शब्द गीतकार हर्क साउदका हुन्। १७ मिनेट २८ सेकेण्डको म्युजिकल फिल्मलाई निर्देशन गरेका छन्, नवीन चौहानले। कथा पनि उनै चौहानको हो। भिडियोमा अभिनेता विपिन कार्की र कलाकार अन्जना बराइलीको अभिनय छ।
निर्देशक चौहानसँग विपिनको यो दोस्रो सहकार्य हो। यसअघि चौहानले निर्देशन गरेका गीतिभिडियो 'बटौली'मा विपिनले अभिनय गरेका थिए।
'घुमी घुमी'ले नेपाली समुदायको कथालाई फरक ढंगले प्रस्तुत गरेको छ। बसाइँसराइको आन्तरिक पाटा र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति, लोक विचार, लोक भावनाका कुराहरू म्युजिकल फिल्मले भन्छ। कथालाई बगाउने सुन्दर पाटो भनेको दुई पात्रबीचको प्रेम हो। प्रेमको सौन्दर्यलाई कथाले नजिकबाट नियाल्न प्रेरित गर्छ।
'मलाई हाम्रो नेपाली समाजको दुई वटा कुराले बिथोलीरहेको थियो। एक- आन्तरिक बसाइँसराइ अनि यसले निम्त्याएका भौतिक पाटा, सामाजिक पाटा अनि भावनात्मक पाटा। अर्कोचाहिँ हाम्रो लोक जीवन कतै अल्मलिएजस्तो, लोक भाषाले आफ्नो पहिचान गुमाउँदै गरेजस्तो, चलचित्र, गीतहरुले पराई शैली अंगाली रहेजस्तो अनि लोक बिचार, लोक बुझाई ओझेल पर्दै गए जस्तो।
'केही खिप्न मन थियो, केही भन्न मन थियो । त्यो बेला म आफैँ आवाजको खोजीमा थिएँ,' निर्देशक चौहान रचनागर्भबारे भन्छन्, 'हर्क दाजु र सुजन भाइले दोस्रो लकडाउनमा यो लोक गीतको पहिलो ड्राफ्ट सुनाउँदा मैले सोही आवाज भेटेझैँ भयो अनि हामी लगायत हाम्रो मन मीत समूह लोक साङिगितिक यात्रा- घुमी घुमीको यात्रामा निस्कियौं।'
भिडियो हेर्दा कतिपयलाई लाग्न सक्छ- अलि लाम्चो लाम्चो, केही नमिलेको हो कि जस्तो!
निर्देशक चौहानका अनुसार यो कुनै प्राविधिक त्रुटि होइन। यसपालि निर्माण टिमले 'एनामोर्फिक लेन्स'को प्रयोग गरेकाले त्यस्तो देखिएको हो। नेपालमा यो लेन्सको प्रयोग हुने गरेको छैन।
'बडो मिहिनेतका साथ भारतबाट मगाइएको थियो। त्यसैले यसको इमेजमा हाम्रो बानी नबसेको कारण अलि अनौठो हुनु स्वाभाविक हो। यो हेर्दै गए पश्चात् सामान्य लागि हाल्छ,' निर्देशक चौहान भन्छन्। म्युजिकल फिल्ममा विपिन र अञ्जनासँगै सम्रान्त थापा र हर्क साउदको पनि अभिनय छ।
गीतलाई गंगा थापाले एरेन्ज तथा पार्श्व संगीत गरेका हुन् भने मिक्सिङ्ग मास्टरिङ्ग कोबिद बज्रले गरेका हुन्। भिडियोलाई महेश पौडेलले खिचेका छन् भने सुरज पौडेलले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।