काठमाडौं– भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भएको आरोप लागेका ‘सोले र कुमार’ उपनामले चिनिने दुर्गाबहादुर बुढाथोकीलाई सफाइ दिनुको कारणबारे न्यायाधीश अम्बिकाप्रसाद निरौलाले खुलाएका छन्।
गत असोज ६ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश निरौलाले बुढाथोकीलाई सफाइ दिएका थिए। अपहरणकारी भएको पुष्टि हुने आधार हुँदाहुँदै सफाइ दिएको भन्दै उक्त फैसलाको विरोध समेत भएको थियो। फैसला भएको ६ महिनापछि पूर्णपाठ सार्वजनिक गर्दै निरौलाले सफाइ दिनुको कारण खुलाएका छन्।
अपहरणकारी नेपाली नागरिक भनेर पेस गरिएका बुढाथोकी नेपाली नै नरहेको र उनी भारतीय नागरिक भएको भन्दै निरौलाले सफाइ दिएका थिए। यो विषय सार्वजनिक भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट जारी गरिएको बुढाथोकीको नागरिकतासमेत अदालतमा पेस गरेर उनी सर्लाहीको बागमती नगरपालिका– २ का भएको भन्दै प्रमाण जुटाएको थियो।
तर, अदालतमा बयान दिने क्रममा बुढाथोकीले आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको भन्दै भारतीय आधारकार्ड पेस गरेका थिए। त्यसैलाई आधार बनाएर निरौलाको इजलासले सफाइ दिएको थियो।
निरौलाले सफाइ दिनुको कारणहरु पूर्णपाठमा खुलाएका छन्। ‘कसैलाई दोषी देखाइ कसुरको दाबी लिएपछि दाबी प्रमाणित गर्ने भार पनि वादी पक्षउपर नै रहन्छ भन्ने न्यायिक सिद्धान्त र कानुनी व्यवस्था छ। अदालतले मिसिलमा संलग्न प्रमाणको विवेचना मात्रै गर्ने हो। अभियोग दाबी पुष्टि गर्ने प्रमाण मिसिलमा संलग्न नभए अभियुक्तलाई जसरी पनि दोषी ठहर्याउने वा सफाइ दिने उद्देश्यबाट अदालत आफैंले प्रमाणको संकलन र उत्खनन् गर्दै हिँड्ने न्यायिक अभ्यास र प्रचलित कानुनले अनुमति दिँदैन’, पूर्णपाठमा भनिएको छ।
त्यस्तै, अभियोगपत्रमा कुनै कुरा उल्लेख गरी सहिछाप गर्दैमा अभियोगपत्रलाई कुनै व्यक्तिविरुद्ध अदालतले सरकारी लिखतजस्तो अकाट्य प्रमाण मानेर फैसलाको आधार बनाउन नसक्ने पनि उल्लेख गरेका छन्।
अभियोगपत्रमा उल्लेख जस्तो प्रतिवादीको नामथर, ठेगाना खुल्ने कुनै प्रमाण पेस गर्न नसकेको र प्रतिवादी आफैंले नेपाली नागरिक नभई भारतको दार्जेलिङमा बस्ने भारतीय नागरिक प्रकाश क्षेत्री बताएको र सोही अनुसारको कागजात पेस गरेकोले भारतीय आधार मान्दै सफाइ दिएको पूर्णपाठमा उल्लेख गरिएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३२ को उपदफा (१) को (घ) अनुसार अभियोगपत्र दायर गर्दा अभियुक्तको वास्तविक पहिचान खुल्ने विवरण, फोटो, नागपिरकता, राहदानी, सवारी चालक अनुमति पत्र, वा अन्य परिचयपत्र पेस गर्नुपर्ने हुन्छ। तर, यी कुनै पनि कागजातहरु पेस गर्न नसकेको तर्क न्यायाधीश निरौलाले उल्लेख गरेका छन्।
यो घटनामा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिल कार्यालयले त्रुटी गरेकोतर्फ इंगित गरेका छन्। घटना भएको ११ वर्षपछि पक्राउ परेका व्यक्तिको अभियोग दर्ता गर्दा यकिन परिचय खुलाउन नसक्नु र पुरक अभियोग दर्ता गर्दा समेत प्रमाणहरु पेस गर्न नसक्नु, अझ मौकामा नाम, थर स्पष्ट भएकाले यकिन भएका बखत दाबी लिइने भनि प्रमाण पेस नगरी पुरक अभियोग लगाउनु आफैंमा त्रुटिपूर्ण भएको तर्क पूर्णपाठमा उल्लेख गरिएको छ।
अपहरणका अभियुक्त बुढाथोकीलाई गत वर्षको पुस १५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतको दार्जिलिङबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो।
सीआईबीले बुढाथोकीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि परिसर काठमाडौंको जिम्मा लगाएको थियो। त्यसबेला काठमाडौं परिसरको कमाण्ड एसएसपी अशोक सिंहले सम्हालिसकेका थिए।
श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक सदस्य भनिएका बुढाथोकीको अनुसन्धान परिसरले गरेको थियो। करिब एक महिना लगाएर अनुसन्धान गरेपछि परिसरले अपहरण तथा शरीर बन्धकको कसूरमा मुद्दा चलाउने रायसहित परिसरका इन्स्पेक्टर नानिकाजी थापाले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीको प्रतिवेदनका आधारमा सजाय मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, थुनछेक आदेश भएको ९ महिनापछि गत असोज ५ गते न्यायाधीश निरौलाको इजलासले दुर्गाबहादुरलाई रिहा हुने फैसला गरेको थियो।
को हुन् बुढाथोकी ?
उनले आफू दुर्गाबहादुर बुढाथोकी नभएर प्रकाश क्षेत्री भएको दाबी अदालतमा पेस गरे पनि उनी अपहरणमा संलग्न दुर्गाबहादुर बुढाथोकी नै हुन्। बुढाथोकीले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट ५४९८०३०१ नम्बरको नागरिकता लिएको प्रमाण समेत प्रहरीले जुटाइसकेको छ।
बुढाथोकीको अपहरणका अर्का नाइके प्रल्हाद महतसँग राम्रै चिनजान थियो। त्यसबेला बुढाथोकीको पेसा थियो– चोरी। मोटरसाइकल चोरी गरेर बुढाथोकीले प्रल्हाद महतको समूहलाई दिने गर्थे। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलोपटक बुढाथोकी पक्राउ परेका थिए।
चोरीबाट छुटेपछि बुढाथोकी, प्रल्हादमार्फत अपहरणको धन्दासम्म पुगेको प्रहरीको भनाइ छ।
२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भएको थियो। मारुती भ्यानमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो। पछि अपहरणमा प्रयोग भएको मारुती भ्यान कान्ति बाल अस्पतालको पार्किङबाट प्रहरीले बरामद गरेको थियो। यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए।
यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो। ‘अपहरणका मुख्य नाइके सेट्टी भएकाले उनैको टिमले बाबुराजाको अपहरण गरेको हुनुपर्छ भन्ने हाम्रो विश्लेषण थियो,’ एक पूर्वप्रहरी निरीक्षक भन्छन्, ‘तर, पछि बाबुराजाको अपहरणमा सेट्टीको संलग्नता नरहेको पाइयो। सेट्टीले बाबुराजाको अपहरण अस्वीकार गरेका थिए।’
प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुन सक्ने बताएका थिए।
प्रल्हाद सुरु सुरुमा सेट्टीकै समूहमा रहेर अपहरणको धन्दा चलाउँथे। अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले हाल जिल्ला अदालतको आदेशबाट छुटेका बुढाथोकीमार्फत बन्दोबस्त गर्थे।
त्यसपछि बाबुराजाको अपहरणमा प्रल्हादसँगै विष्णु जिसी, सोले र कुमार भन्ने दुर्गाबहादुर बुढाथोकी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की, अनिल गुरूङको संलग्नता रहेको खुलेको थियो।
फिरौतीबापतको केही रकम बुढाथोकीले पनि लिएको प्रहरी दाबी छ। उक्त रकम लिएर फरार भएका उनी भारत छिर्न सफल भएका थिए। १२ वर्षदेखि भारतमा लुकेर बस्दै आएका बुढाथोकी आफ्नो परिचय बदलेर बसेका थिए। दार्जिलिङमा प्रकाश क्षेत्री नामले परिचित बुढाथोकीले सोही नामबाट राशन कार्डसमेत लिइसकेका थिए।
यस्तो छ फैसलाको पूर्णपाठ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।