एजेन्सी - अमेरिकाको राजधानी वासिङ्टन डिसीमा यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्करपछि भएको दुर्घटनामा कोही पनि जीवित हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । यसअघि जीवितहरूको उद्धारमा लागेका उद्धारकर्मीहरूले अब शवहरू निकाल्नमा केन्द्रित भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले बताएको हो ।
अमेरिकन एयरलाइन्सको विमान सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो । रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्टबाट बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान राति ९ बजे हेलिकप्टरसँग ठोक्किन पुगेको थियो ।
विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । सैन्य हेलिकप्टरमा ३ जना सैनिक सवार रहेका थिए । हालसम्म विमानबाट २७ जनाको शव बरामद भएको छ भने हेलिकप्टरबाट थप एक जनाको शव फेला परेको छ ।
विचिटा मेयर लिली वूले पत्रकार सम्मेलन गर्दै उद्धार टोलीले आफूलाई कोही पनि जीवित नरहेको जानकारी रहेको बताइन् । उनले फेला परेको शवको सनाखतपछि परिवारहरूलाई खबर गराइने बताइन् । अमेरिकामा यात्रुवाहक विमान यति ठुलो दुर्घटनामा परेको १६ वर्षपछि पहिलोपटक हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।