काठमाडौं– भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण काण्डका अभियुक्त 'सोलेर कुमार' भनिने दुर्गाबहादुर बुढाथोकीले अदालतबाट 'सफाइ' पाएको प्रकरणमा प्रहरीको कमजोरी देखिएपछि आन्तरिक अनुसन्धान सुरु गरिएको छ।
बुढाथोकीको सफाइ प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय (मेट्रो)ले छानबिन समिति गठन गरेको छ। मेट्रोकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्र बहादुर सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो।
समितिमा महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला तथा मेट्रोकै डीएसपी रविन कार्की, इन्सपेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती सदस्य छन्।
प्रहरीले अदालतमा पेस गर्नुपर्ने कागजात पेस नगरेको र अनुसन्धानमा भएको त्रुटिका कारण बुढाथोकीले सफाइ पाएको देखिएपछि आन्तरिक अनुसन्धान थालिएको हो।
रावलको अपहरणमा संलग्न भएर १२ वर्षसम्म फरार रहेका बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले २०७७ पुसको दोस्रो साता पक्राउ गरेको थियो।
त्यसपछि उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरण तथा शरीर बन्धकको कसूरमा अनुसन्धान अगाडि बढाएको थियो। बुढाथोकीविरुद्ध अनुसन्धान सकेर महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाउने रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।
प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। तर, पक्राउ परेको ९ महिनापछि बुढाथोकीले अदालतबाट सफाइ पाएका थिए।
‘पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको र सोही अनुसारको कागजात समेत पेस गरेको र अपहरणमा संलग्न भनिएका व्यक्तिले नै दुर्गाबहादुरलाई नचिन्ने बताएको,’ भन्ने आधारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले दुर्गाबहादुरले फाइ पाउने फैसला सुनाएको हो।
प्रहरी हिरासतमा हुँदा अपराध स्वीकारेको (साबिति बयान) दिएका दुर्गाबहादुर बुढाथोकीले अदालतमा भने भारतको राशन कार्डदेखि बर्थ सर्टिफिकेटसम्म पेस गरेर आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको प्रमाण दिएका थिए। यता प्रहरीले सर्लाहीका दुर्गाबहादुर बुढाथोकी भनेपनि प्रमाण पेस गरेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।