काठमाडौं– दशैं सामान्यतया किसानहरुले मनाउने चाड हो। किनभने खेतीपाती स्याहार्ने बेला भइसकेको हुन्न। किसानहरु बढीभन्दा बढी फुर्सदमा हुन्छन्। प्रायःको घरमा गाइभैंसी दुहुना हुन्छन्।
प्राकृतिक रुपले पनि असोज महिना निकै रमणीय हुन्छ। जाडो सुरु भएको पनि हुन्न। गर्मीले छाडेको पनि हुन्न।
फुर्सदको बेलामा स्वेदश तथा विदेशमा भएका आफन्तहरु भेटघाट हुने चाड पनि हो, दशैं। तर, अहिले यसको प्रकृति फेरियो। आजकाल दशैंमा सामन्तवादका गन्ध आउन थालेको छ।
देउताको नाममा अत्यधिक रुपमा बली दिनेजस्ता विकृति प्रचलनमा छ। यो पहिलेदेखि चल्दै आएको विकृति हो। म यो विकृतिको पक्षमा छैन। देउताको थानमा पञ्चबली दिन म कहिल्यै गइनँ। हाम्रो घरमा आमाबुवा पुरानै प्रचलन मान्ने मान्छेले पनि पञ्चबली दिनेजस्ता काम गर्नु भएन।
पञ्चायत कालमा लामो समय भूमिगत बसें। अरुबेला घरतिरको खासै वास्ता हुँदैनथ्यो। तर, जब असोज लाग्न थाल्थो; घरको खुबै सम्झना आउँथ्यो। घरतिर फर्कन मन लाग्थ्यो। लुकिछिपी भए पनि घरै जाउँ भन्ने लाग्न थाल्थ्यो। म जान्थें पनि।
यो दशैं लागेपछि अचम्म हुन्थ्यो। अरु एघार महिना खासै वास्ता हुँदैनथ्यो तर असोज लागेपछि खुब चुरोट पिउन मन लाग्थ्यो। अनि असोज एक महिना बेस्सरी चुरोट खान्थें। धेरै पहिले, बैंशको कुरा हो यो। अहिले त लामो समय भइसक्यो, चुरोट खान छाडेको।
मैले भन्न खोजेको, दशैं आएपछि औधी खुसी लाग्थ्यो।
तर, अहिले त गाउँमै कोही छैन। रित्तो जस्तो लाग्छ। आफ्ना कतिपय सहपाठीहरु बितिसके। नयाँ पिँढीहरु कोही अमेरिका, कोही बेलायत कोही जापानमा छन्। त्यसैले गाउँमा गएर भेट्ने र कुराकानी गर्ने मान्छे पनि छैनन्।
दशैंको प्राकृतिक वातावरण त उस्तै छ। आफू खेलेको वन, पाखो, पखेरो सबै उस्तै छन्। त्यही हिसाबले चाहिँ गाउँ फर्कन मन लाग्छ। तर मानिसहरुसँगको सम्पर्क चाहिँ लगभग सबै टुटिसक्यो। आफ्ना आफन्तहरु भेट्न त युरोप वा अमेरिकातिर जानुपर्ने अवस्था छ। म बसेको खेलेको ठाउँमा चाहिँ कोही पनि छैनन्।
आजकाल तराईमा पनि मेरो बसोबास छ। तर, दशैं आएपछि जहाँ जन्मेको, जहाँ खेलेको उहीँ जान मन लाग्छ। त्यही ठाउँको न्यास्रो मेट्न मन लाग्छ।
अरुले दशैंको नाममा रक्सी र मासुको छेलोखेलो गर्छन्। कतिपयको त त्यही खाएर अस्पतालतिर दौडधुप गर्नुपर्छ। मेरो आफन्तहरुमा पनि यस्तो प्रवृत्ति देखेको छु। मेरोमा त्यस्तो हुन्न।
आजकाल म शाकाहारी भएको छु। त्यसैले दशैं आए पनि मेरोमा उतिसाह्रो तडकभडक हुँदैन। परिवारका अन्य सदस्यले पनि मासुका लागि त्यति बल गर्दैनन्। त्यसैले खानपिनमा विशेष भन्ने केही हुँदैन। अघिपछि जे पकाइन्छ, त्यही नै हो।
बुवाआमा जीवितै हुँदा मैले उहाँहरुको हातबाट टीका लगाउँथे। मावल पनि जान्थें। ससुराली पनि जान्थें। उहाँहरु सबै बितेपछि मैले मान्ने कोही ठूला मान्छे छन् भने लाउँछु। तर खोज्दै गएर भने टीका लगाउँदिनँ।
दक्षिणामा भने अत्यन्त थोरै खर्च हुन्छ। कुनै पनि चाडबाडमा पैसाको प्रदर्शन म गर्दै गर्दिनँ। भाञ्जीहरु, दिदीबहिनीहरु आउँदा एकदुई सय त दिनै पर्यो।
मलाई तास खेल्नै आउँदैन। त्यसैले यसबारे चर्चा गर्नै परेन।
दशैंको कुरा चल्दा मलाई केटाकेटीमा लट्ठे पिङ खेल्दा लडेको सम्झना आउँछ। यो पिङ रुखमा डोरी बाँधेर बनाइन्छ। म करिब १० वर्षको थिएँ। एकजना छिमेकी थिए। उनी मभन्दा अलि ठूला। पिङमा मैले उनीसित दोहोरा खेल्न खोजें। उनले पिङलाई बेस्सरी मच्चाए। त्यसैक्रममा म उछिट्टिएँ। जमिनमा पछारिएँ। टाउकोमा चोट लाग्यो। बुवाले के–के झारको झोल टाउकोमा दलिदिएको अझै पनि सम्झनामा आउँछ।
पछि पनि त्यस्तो पिङ खेलें। तर, त्यो लडेको घटना भने मैले बिर्सिन सकेको छैन।
(कुराकानीमा आधारित। यो सामग्री नेपाल लाइभमा पहिलो पटक २०७४ असोज १२ गते प्रकाशित भएको थियो। पछिल्ला सन्दर्भसँग नमिल्ने केही अंश यहाँ हटाइएका छन्। )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।