काठमाडौँ – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।
उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतले बताए। यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन्।
यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको थियो। सार्वजनिक अडियोमा यादवले एसपीलाई ‘को हो तिमीहरू’ भन्दै अपशब्द बोलेको समेत सुनिन्छ। अध्यक्ष यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरू’ भन्दै गाली गरेपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ।
त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ। अध्यक्ष यादवले एसपीलाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै गम्भीर आरोप लगाएको पनि सुनिन्छ।
अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।