काठमाडौं– सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झांक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले हिजो (बिहीबार) झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन्।
काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए।
दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो।
हिरासतमा रहेका बेला उनको परिवारसँग सहमति भएको थियो। यद्यपि, काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।