काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलगत्तै भारत सरकारले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ। योसँगै नेपालबाट भारतले कुल ३ सय ६४ मेगावाट विद्युत खरिद गर्ने भएको हो।
यसअघि भारतले ३९ युनियमात्र विद्युत् खरिद गर्दै आएको थियो। भारत सरकारको स्वीकृतिसँगै नेपालले अब ३ सय ६४ मेगावाट बिजुली भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बेच्न पाउनेछ।
भारत सरकारले दिएको स्वीकृतिसँगै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित थप ३२५ मेगावाट बिजुली निर्यात गर्न ढोका खुलेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताइन्।
नेपाल विद्युत् प्राधिकरणले गत कात्तिक १५ गते भारतीय ऊर्जा बजारमा वर्षायाममा देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको थियो।
नेपालका नदीनालाको सतह बढेसँगै वर्षायाममा बिजुली उत्पादन बढी अर्थात् सरप्लस हुने गर्छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चारवटा जलविद्युत् आयोजनाबाट उत्पादन हुने ३२५ मेगावाट थप बिजुली वर्षायाममा भारत निर्यात गर्न बाटो खुलेको बताए।
प्राधिकरणका अनुसार बर्खामा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाकोे ५२ मेगावाट बिजुली भारतमा निर्यात गरिनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले वर्षायाममा अब भारतमा ३ सय ६४ मेगावाट बिजुली ढल्केबर मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट निर्यात गर्ने बताए।
त्यसअघि यो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाट बिजुलीमात्रै निर्यात गर्न पाइन्थ्यो। अहिले प्राधिकरणको सहायक कम्पनी र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट उत्पादित २१ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
प्राधिकरणका अनुसार वर्षाको समयमा नेपालमा अधिकतम बिजुलीको माग १९ सय मेगावाटभन्दा धेरै नहुने र चालु आवको अन्त्यसम्म थप दुई सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।