काठमाडौं– सत्ता गठबन्धनको शीर्ष नेताको बैठक आज पनि बस्दै छ। यसअघि बिहीबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुने उनले बताए। त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ। बिहीबारको बैठकमा सहभागी नेताहरु आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो।
बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका साथै प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा र कृष्णप्रसाद सिटौला सहभागी थिए।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी थिए। जनता समाजवादी पार्टी (जसपा)बाट भने बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी थिए। गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले भने आफूहरुलाई बैठकबारे जानकारी नै नभएको बताएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए।
नेकपा (माओवादी केन्द्र)का नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए। संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ।
नेकपा (एकीकृत समाजवादी)का नेताले भने शनिबार (भोलि)सम्म कुर्न आग्रह गरेका थिए। शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बोलाइएको छ। बैठकले एमसीसीका विषयमा धारणा तय गर्ने बताइएको छ।
सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरिसकेको छ।बिहीबारको गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए।
बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको थियो।
आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ। बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।