काठमाडौं- बालुवाटारमा बसेको सत्ता गठबन्धनका चार दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संदनमा टेबल गर्नुपर्ने प्रस्ताव राखेका छन्। बैठकमा सोही विषयमा छलफल केन्द्रित भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘एमसीसीलाई पूर्ववर्ती सरकारले दर्ता गरेको हो। सरकार अविच्छिन्न उत्तराधिकारी हो। अब फागुन १६ गतेसम्म यसलाई हामीले निष्कर्षमा पुर्याउनका लागि यसलाई टेबल गर्नका निमित्त प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभएको छ,’ कार्कीले भने।
सोही प्रस्तावको वरिपरि बसेर तीन घण्टासम्म धेरै छलफल भएको उनले बताए। ‘फागुन १६ गतेसम्म निष्कर्षमा पुर्याउनका लागि छलफल त्यस दिशामा केन्द्रित छ। छलफलको निष्कर्ष निस्केन,’ उनले भने।
मन्त्री कार्कीका अनुसार अर्को बैठक शुक्रबार बिहान १० बजे बालुवाटारमा बस्नेछ। ‘हामी पाँच दलमध्ये चार दल सरकारमा छौँ। सबैका आ-आफ्ना मूल्य छन्, मान्यता छन्, विचारहरु छन्। र, सबै किसिमका विचारहरु प्रकट भएका छन्। र, तीमाथि तीन घण्टा धेरै विषयमा छलफल भएको छ। र यसलाई एउटा सहमतिका साथ निष्कर्षमा पुर्याउन भोलि फेरि बैठक बस्ने छ,’ उनले भने।
प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्कालै प्रतिनिधि सभामा टेबल गर्न चाहेका छन्। तर, सत्ता घटक दलहरु नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी त्यसको विपक्षमा उभिएका छन्। राष्ट्रिय जनमोर्चा (राजमो) त सडक संघर्षमै उत्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।