काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। अपराह्न ५ बजेदेखि सुरु भएको बैठकमा एमसीसीका विषयमा छलफल थियो। बैठकको निर्णय भने सार्वजनिक गरिएको छैन।
बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका साथै प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा र कृष्णप्रसाद सिटौला सहभागी थिए।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी थिए। जनता समाजवादी पार्टी (जसपा)बाट भने बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।
गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले भने आफूहरुलाई बैठकबारे जानकारी नै नभएको बताएको छ। बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको थियो।
जसरी पनि एमसीसी टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन्।
एमसीसी पास गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। सरकारमा सहभागी रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनहरुले नै एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।