साहित्य बजारमा अहिले ‘हट केक’ बनेको छ पत्रकार बसन्त बस्नेतद्वारा लिखित उपन्यास महाभारा। सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म महाभाराको चर्चा भएपछि पढ्नका लागि म पनि आकर्षित भएको हुँ। मजस्ता पाठक कति होलान्!
कवि भूपी शेरचनले त भनेकै छन्, यो हल्लै हल्लाको देश हो। महाभाराले पनि साहित्य बजारमा उधुमै हल्ला चलायो। अनि म उही ‘ट्रक’ चढेर लागेँ महाभाराको यात्रामा।
मेरो यात्रामा कथाको पात्र डुक्पा तामाङले निकै पटक ‘ब्रेक’ लगाइदियो। किताबभरि डुक्पा नै डुक्पा छ। डुक्पाकै कथा भएपछि ऊ आउने नै भयो। पढुन्जेल ‘बोर’ लागेन, सरल भाषाले तानिरह्यो।
महाभाराको कथा माओवादी सशस्त्र युद्धको समय वरिपरि घुमेको छ। तर, सशस्त्र युद्धलाई आत्मसात् गर्न सकेको छैन, मात्र द्रष्टा भएको छ। मूल पात्रलाई नै लेखकले विचलनतिर धकेलेका छन्।
डुक्पा सानै हुँदा उनका आमाको मृत्यु हुन्छ। उनलाई बुबा बाबुछिरीले हुर्काउँछन्। तर, पढाइमा रुचि हुँदैन। प्रमुख पात्रको पढाइ कमजोर देखाउँदा ऊ तामाङ समुदायकै हुनु के संयोग मात्र होला त? कि लेखकले परम्परागत सोचलाई ‘न्यारेसन’ बनाए? प्रश्न दिमागमा उठेकै हो।
‘स्यालको मन फोक्सोमाथि’ भनेझैँ डुक्पाको मन ड्राइभर हुनेमै छ। डुक्पाहरू ड्राइभर नै हुन्छन् र ती जाँडरक्सी अनिवार्य खान्छन् भन्ने अर्को न्यारेसन लेखकले खडा गर्न खोजेका छन्। यसको बचाउका लागि ‘कथाले मागेको’ जवाफ त दिन सकिएला, तर यहाँ उपन्यासमा बुनिएको समाजमाथि प्रश्न गर्न सकिने ठाउँ प्रशस्त छन्।
सुदूरपूर्वको गाउँमा जन्मिएको डुक्पासँग जिन्दगीको ठूलो सपना छैन। बस् ड्राइभर हुने सपना छ। सामान्य जीवन बिताउने सपना छ। ऊ पहाडबाट मधेस झर्छ, अनि गाडी चलाउन सिक्छ। डुक्पा वास्तवमै आफ्नो माटोमा रमाउने पात्र हो। आफ्नो सपनामा रमाउने पात्र हो।
बाल्यकालको सारथी सुक्मती लिम्बुमार्फत डुक्पाले प्रेमको सपना देखेको छ। उनी अचानक गाउँको मेलामा भेटिन्छिन्। मेलातिर भेट हुनु, नाताकुटुम्बबीच मायाप्रेम हुनु, जिस्किँदाजिस्किँदै तानेर विवाह हुनु पूर्वका जनजातिको संस्कृति हो। उपन्यासभरि यो संस्कृतिसँग मजाले भिज्न पाइन्छ।
डुक्पा श्रमिक हो। श्रमप्रति ऊ इमान्दार छ। प्रेममा पनि इमान्दार छ र राजनीतिमा पनि। महाभाराको कथा प्रेम, राजनिति र धर्मको त्रिकोणात्मक द्धन्द्धमा बुनिएको छ। तर, यी तीन विषय सतही रूपमा मात्र आएका छन्।
उपन्यास पढिरहँदा मनमा धेरै प्रश्न उठे। पहिलो त, औपचारिकताका लागि मात्रै डुक्पाको प्रेमिकाको रूपमा सुक्मतीलाई उभ्याइएको छ। ३८८ पृष्ठको मोटो पुस्तकमा सुक्मतीलाई डुक्पाको प्रेमिकामा मात्र सीमित गर्दा उही परम्परागत नेपाली फिल्मका अभिनेत्रीको सम्झना गराउँछ। बढीमा उनी भट्टी पसलकी साउनी भएकी छिन्। यो त वास्तवमै पितृसतात्मक सोच हो।
उपन्यासको पात्र छनौटमा पनि प्रश्न उठाउन सकिने ठाउँ छन्। पात्र कुनै जात, वर्ग वा समुदायबाटै लिइन्छ। तर, ती पात्रको भाषा र संस्कृतिको जडसम्म पुग्न सक्नुपर्छ। त्यो समुदायको पहिचानलाई ध्यान दिनै पर्छ। लबजलाई मात्र टिपेर पहिचान खुल्दैन। माओवादी युद्धको सेरोफेरोमा कथा बुन्ने बित्तिकै जनजाति, दलित, महिला, आदिवासी र विपन्न वर्गलाई जोडेर मात्र पहिचान कायम हुँदैन। यो त पुरातन शैली भइसक्यो।
जनजातिबाट पात्र उभ्याएपछि जाँड र रक्सी जोड्नुपर्छ, केही भद्दा शब्दहरू उल्लेख गर्नुपर्छ भन्ने जस्ता सूत्रहरूलाई पनि उपन्यासमा मजाले प्रयोग गरिएको छ। रक्सी र ‘रफ’ शब्दले मात्र पहिचानलाई स्पष्ट पार्ने हो र?
लेखक उपल्लो समुदायको भएपछि त्यसको छायाँ आख्यानका पात्रमा पनि परेको छ। जस्तो, उत्पीडित समुदाय भन्ने बित्तिकै मुर्ख हुन्छन् र युद्धका कथामा बन्दुक बोकाउन सजिलो हुन्छ भन्ने मनोदशा कहीँ न कहीँ झल्किन्छ। पढाइप्रति ध्यान नदिने न्यारेसन पनि यहीँबाट उठ्छ। तर, उत्पीडित वर्गले किन पढाइप्रति ध्यान नदिएको र किन कथित उच्च वर्ग र जातिले जस्तो पढ्न नसकेको भन्ने सामाजिक यथार्थमा पस्न लेखक चाहँदै चाहँदैनन्।
यदि डुक्पाको ठाउँमा नामले रामप्रसाद र थरले पौडेल, भण्डारी भएको भए कथामा केही फरकपन हुन्थ्यो? आमाको मृत्यु होस् वा बुवा, के ऊ ‘वनारस’ पढ्न नगएर युद्धमा होमिएको लेखिन्थ्यो? शिक्षालाई आर्जनको अवसरको रूपमा कुन समुदायले बुझ्छ? अनि त्यो समुदाय त जन्मिदैमा ‘ज्ञानी’ हुन्छ। कहाँ युद्धमा होमिन्छ र?
उपन्यासमा डुक्पा युद्धरत् पार्टी माओवादीमा लागेको प्रष्ट उल्लेख छैन। न त राजनीतिक चेत नै स्पष्ट पारिएको छ। ऊ त मात्र ‘सवारी चालक’ हो।
डुक्पा राजनितिक दलको जनवर्गीय संगठनको सदस्य बन्दैमा कथा राजनीतिको वरिपरि हुँदैन। यस्ता हल्का विषयले देशका लागि वास्तवमै ज्यानको आहुति दिन युद्धमा होमिएका, यातना भोगेका, घाइते भएका र मृत्युवरण गरेकाको अपमान मात्र गर्छ। सशस्त्र युद्धको बाछिटा हरेक नागरिकमा पर्नु स्वाभाविक हो। डुक्पालाई युद्धको बाछिटाले मात्र छोएको हो। ऊ आफैँ उत्पीडित समुदायको भएको हुँदा माओवादी युद्धलाई पछ्याइरहनु अन्यथा होइन।
गाउँको डुक्पा शहरमा आएर डेनी बन्छ। माओवादी युद्धमा जोडिएर ‘कमरेड थेवा’ हुन्छ। एकै व्यक्ति तीन वटा चरित्रमा बाँडिएको छ। तर, देशमा भएको ठूलो राजनीतिक परिवर्तनमा उपन्यासको मूल पात्रको भूमिका कति थियो त भनेर प्रश्न गर्न सकिन्छ।
डुक्पा विद्यालय पढ्दै गर्दा आफू धामीझाँक्री भएको नक्कल (अभ्यास?) गथ्र्यो। पछि ऊ एकाएक भौतिकवादी भयो। माओवादी युद्धलाई सहयोग गर्यो। तर, पूर्णतया संलग्न भएन। विरोधाभास यहाँ पनि छ।
उपन्यासको विषय राजनीति पनि हो। अझ मूल विषय नै हो। त्यसो भए राजनीतिमा महिलाको प्रत्यक्ष भूमिका छैन र? सुक्मतीको प्रेमको कथा डुक्पा हुँदै तान्छोहाङ्गसम्म आउँछ। महिलालाई पुरुषसँग जोडेर मात्र पात्रको रूपमा उभ्याइएको छ। आफूमाथि परेको अन्याय, अत्याचार र हिंसाबारे बोल्न पनि पुरुषकै सहारा चाहिने न्यारेसन खडा गरिएको छ।
महिला स्वयम् उत्पीडित समुदायको ठूलो हिस्सा हो। महिलामा साहस, आँट र चेतना पुरुषको कारणले मात्र आएको होइन। महिलालाई स्वर्गको अप्सराका रूपमा हेर्न त सुविन भट्टराईका आख्यान पर्याप्त छन्, किन वसन्त बस्नेतले कलम चलाउनुपर्छ र?
धर्म समाजको निकै संवेदनशील विषय हो। धर्मले गर्ने विभेदबारे उपन्यासमा उल्लेख छ। यस्तो विभेद इस्लामिकका सिया र सुन्नीबीच वा इशाईको क्याथोलिक र प्रोटेस्टेरियनबीच पनि छ। किरातभित्र पनि छ। यी कुरा उपन्यासमा आएका छन्। तर, हिन्दू धर्मको जात व्यवस्थाका कारण हुने विभेदलाई कतै पनि उल्लेख गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।