काठमाडौं– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप आगामी जेठको दोस्रो साता हुने भएको छ ।
आयाेजक नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता बारे जानकारी दिएकाे हाे ।
प्रतियोगिता ८ देखि १५ सम्म दशरथ रंगशालाको कभर्ड हुलमा हुनेछ । प्रतियोगितामा कुल ८ देशको सहभागिता रहने आयाेजकले जनाएकाे छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सबै तयारी पूरा भएको बताए । पत्रकार सम्मेलनकै अवसरमा प्रतियोगिताको ट्रफि पनि सार्वजनिक गरिएको थियो ।
प्रतियोगितामा नेपालसँगै इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र काजाकिस्तान रहेका छन् । प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको औपचारिक कार्यक्रम रहेको हुनाले यसको प्रभाव विश्व वरीयतामा पनि पर्नेछ ।
प्रतियोगिताको कुल बजेट दुई करोड ५० लाख रुपैयाँ रहनेछ । प्रतियोगिताको तयारीका क्रममा अहिले १६ खेलाडी सम्मिलित टिमको प्रशिक्षण चलिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।