धनगढी– नेपाली कांग्रेसका सभापति गगन थापा आज पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका छन् ।
उनको स्वागतका लागि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विमानस्थलमै पुगे । यसअघि थापालाई सभापति मान्न नसकिने र आफ्नो सभापति देउवा नै भएको बताउँदै आएका शाह थापाको स्वागतका लागि विमानस्थलमै पुगेका हुन् ।
पार्टीको केन्द्रीय नेतृत्वले मुख्यमन्त्री फेर्ने गृहकार्य गरिरहेको चर्चाबीच मुख्यमन्त्री थापाको स्वागतमा पुगेका हुन् ।

पार्टी सभापतिलाईै स्वागत गर्न विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला मन्त्री बदादुर थापा, वन मन्त्री शिबराज भट्ट र अर्थ राज्यमन्त्री प्रकाश बम भने गेटमै रोकिएका छन् । यसअघि धावनमार्ग नजिक पुगेर नेताहरूको स्वागत हुने गरेको थियो । यसपटक मुख्यमन्त्रीबाहेकलाई गेटमै रोकिएको छ ।
नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गरेको छ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलामा सभापति गगनकुमार थापाले सम्बोधन गर्दैछन् ।
भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे हिजै धनगढी पुगिसकेका छन् ।
विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट वर्तमान सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।