काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा सूर्य मेटल इण्डस्ट्रिज प्रालिका चार जना सञ्चालकविरुद्ध मुद्दा दर्ता गरेको छ।
आयोगले १२ करोड ३९ लाख ४० हजार ६४३ रुपैयाँ विगो दावी गर्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिकास्थित उक्त कम्पनीका अध्यक्ष उत्तमकुमार ताम्राकार, कम्पनीका सञ्चालकहरु चन्द्रेश्वरी ताम्राकार, अनुप ताम्राकार र निर्मलकुमार ताम्राकारविरुद्ध मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ।
विनाबिल विजक मालवस्तुको कारोबार गरी प्रचलित मूल्य अभिवृद्धि कर ऐन तथा आयकर ऐन, नियम बमोजिम तिर्नुपर्ने कर नतिरी उक्त कम्पनीले राजस्व चुहावटको कार्य गरेको अभियोगपत्रमा दाबी गरिएको छ। मूल्य अभिवृद्धि करतर्फ आठ करोड ५३ लाख २० हजार रुपैयाँ र आयकरतर्फ तीन करोड ६६ लाख २० हजार रुपैयाँ राजस्व छली गरेको ठहर विभागले गरेको छ।
उक्त कम्पनीका सञ्चालकहरुबाट विगो बराबरको रकम तथा सोही बराबर जरिवानासमेत असुल गर्नुपर्ने मागदावी विभागले पेस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।