काठमाडौं– अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले आउँदो फागुन १६ भित्र एमसीसी सम्बन्धी सम्झौता अनुमोदन गर्न ध्यानाकर्षण गराउँदै नेपाललाई पत्र पठाएको छ।
एमसीसी मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको दल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाएर सम्झौता अनुमोदन गर्ने अन्तिम समयसीमा सम्झाएको हो।
एमसीसीले देउवा र प्रचण्ड दुवैले मागेको समयसीमा सम्झाएको हो। यसअघि असोज १३ मा देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै पाँच महिनाको समयसीमा मागेका थिए। त्यो समयसीमा २८ फेब्रुअरी अर्थात १६ फागुनमा सकिँदैछ।
एमसीसीले गत बिहीबार (फेब्रुअरी ३) मा पठाएको पत्रमा सम्झौता अनुमोदन गर्न आग्रह गर्दै त्यसका लागि दुवै नेताले गठबन्धनका दल र सांसदहरुसँग पहल गर्ने भनेर जनाएको प्रतिबद्धता पनि स्मरण गराएको छ।
एमसीसी मुख्यालयले फागुन १६ भित्र सम्झौता अनुमोदन नभएमा एमसीसी बोर्डले सम्झौताबारे अर्को कदम चाल्नेसमेत पत्रमा उल्लेख गरेको छ।
‘नेपालले गरेको प्रतिबद्धताअनुसार काम नभएमा एमसीसी बोर्डले आउँदो मार्चमा हुने बैठकबाट यसबारे निर्णय गर्नेछ’, एमसीसी मुख्यालयको पत्रमा उल्लेख छ, ‘त्यतिञ्जेल सम्झौता अनुमोदन नभएमा अमेरिकाबाट नेपालले प्राप्त गर्ने ५०० मिलियन डलरको अनुदान प्राप्त गर्न नेपाल अयोग्य हुने र सम्झौता रद्ध हुनेबारे निर्णय गर्ने अधिकार एमसीसी बोर्डमा रहनेछ।’
एमसीसी मुख्यालयले पत्रमा भनेको छ, ‘त्यो निर्णयले नेपालमा एमसीसीको सहकार्य र साझेदारी पनि अन्त्य हुन सक्छ।’
हेर्नुहोस् पत्र :


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।