काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानुनी प्रावधान राख्न नहुने बताएका छन्।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ को प्रारम्भिक मस्यौदा प्रतिवेदनमाथिको छलफलका क्रममा बोल्दै मन्त्री यादवले खाद्यवस्तुको कारणले कसैको निधन भएमा उत्पादक कम्पनी तथा उद्योगी व्यवसायीलाई मात्रै दोषी देखाउन नहुने धारणा राखेका हुन्।
नेपालमा कतिपय मृत्यु असन्तुलित खानाको कारण हुने गरेको भन्दै उनले खाद्य पद्धार्थको सेवनका कारण निधन हुँदा उद्योगीलाई अपराधी बनाउने हो भने उद्योग, व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने उद्योगीहरुको गुनासो रहेको उनको भनाइ छ।
यद्यपि, उत्पादक कम्पनी, उद्योगी, व्यवसायीलाई अनुशासनमा राख्नका लागि कारबाही, दण्ड, सजायको व्यवस्था राखेपनि कडा व्यवस्था राख्नु नहुनेमा उनको जोड छ।
यस्तै, मन्त्री यादवले खाद्यवस्तुको परीक्षण, निरीक्षण तथा बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने पनि बताए। मुलुक संघीय संरचनामा रहेको भन्दै उनले संघीयताको मूल मर्म अधिकारको बाँडफाट भएकाले ऐनले आवश्यक अधिकारहरु स्थानीय तह र प्रदेशहरुलाई पनि दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।