फाइल तस्बिर।
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन्।
बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरुको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन्।
संग्रहालय अवलोकनपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री आलेले संग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तीहरु जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सञ्चालन गर्न निर्देशन दिएको बताए।
त्यसैगरी, गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए। संग्रहालयमा रहेका पुराना गाडीहरुलाई मर्मतका साथसाथै रङरोगन गरेर राख्न पनि निर्देशन दिइएको मन्त्री आलेले बताए।
उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामहरुलाई सम्पन्न गर्नका लागि छुट्टै डीपीआर तयार पार्न समेत निर्देशन दिए।
उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरु भत्काइसकिएको समेत जानकारी दिए। संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने उनको प्रतिबद्धता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।