सन् १८१८ मा साइकलको पहिलो स्वरूप आए पनि पूर्णरूपको सुरक्षित साइकल बन्न करिब ७२ वर्ष लाग्यो। सुरक्षित नहुँदासम्म महिलाले साइकल चलाउन नै खोजेनन्। सन् १८९० को दशकमा बल्ल युरोप र अमेरिकाका महिलाले साइकल चलाउन थालेका थिए।
महिलाले पनि साइकलबाट पृथ्वीलाई पहिलो पटक चक्कर भने सन् १८९४ मा लगाएकी थिइन्। अमेरिका बसोबास गर्ने लाट्भियन मूलकी एनी लंडनडेरीले ख्यालठट्टामा नै बाजीको लोभमा साइकलबाट विश्व भ्रमण गरेकी थिइन्।
उनी सन् १८९४ जुन २७ (१९५१ असार १४ गते) बिहान ११ बजे अमेरिकास्थित बोस्टनको बेकन हिलबाट विश्वयात्राका लागि निस्किएकी थिइन्। सिकागोमा उनलाई स्टर्लिङ साइकल वर्क्सले नयाँ साइकल दिँदै यात्राको सम्पूर्ण खर्चको जिम्मेवारी लिएको थियो। उनले न्यूयोर्कबाट पेरिससम्म र योकोहामाबाट सानफ्रान्सिस्कोसम्म भने पानीजहाजमा यात्रा गरेकी थिइन्। अन्ततः उनले तय गरिएको मिति एक वर्षभन्दा १४ दिनअगाडि सिकागो पुगेर विश्वलाई एक फन्को मारिन्। त्यसवापत उनले १० हजार डलर पुरस्कार पाइन्।
यसरी लाट्भियन अमेरिकी महिलाले साइकलमा विश्व भ्रमण गरिसक्दा पनि भारत तथा नेपालमा साइकल नै आइपुगेको थिएन। सन् १९१० मा भारतमा साइकलको प्रवेशपछि नेपालमा पनि आगमन भयो। तर, यो केवल धनाढ्य र राणा शासकमा सीमित थियो। यस्तैमा प्रथम विश्वयुद्धले साइकलको प्रयोगमा व्यापकता ल्यायो।
प्रथम विश्वयुद्धमा हजारौँ नेपालीको मृत्यु भयो, धेरै बेखबर भए। अंग्रेज सरकारले ती अज्ञात नेपालीको मृत्युवापत वार्षिक दश लाख रुपैयाँ नेपाललाई सहयोग गर्ने वाचा गर्यो। त्यही रकमले चन्द्रशमशेरले त्रिचन्द्र अस्पताल (सैनिक अस्पताल), रोपवे तथा रेलवे जस्ता विकासका काम गरे। युद्धको समाप्तिपछि फर्केका नेपाली सैनिकले करिब १५ करोड रुपैयाँ बराबरको कम्पनी भारु भित्र्याए। साधारण नेपालीले पनि आफ्ना आवश्यकताका सामग्री किन्न सक्ने हैसियत बनाए। यही समयमा साइकल राणा परिवार र उच्च सम्भ्रान्त परिवारबाट आम नेपालीसम्म पुग्यो।
विसं १९८१ तिर काठमाडौँ कमलाक्षीका व्यापारी अष्टनारायण मानन्धरले साइकल पसल खोले। नेपालमा पहिलो पटक साइकल चलाउने सर्वसाधारण महिला अष्टनारायणकी छोरी सरोजिनी मानन्धर थिइन्। खुला विचारधारा भएको परिवारमा सरोजिनीको जन्म १९९४ सालमा भयो। बाबु अष्टनारायणले उनलाई शान्ति निकुञ्ज स्कुलमा भर्ना गरिदिएका थिए।
विसं १९८१ तिर काठमाडौँ कमलाक्षीका व्यापारी अष्टनारायण मानन्धरले साइकल पसल खोले। नेपालमा पहिलो पटक साइकल चलाउने सर्वसाधारण महिला अष्टनारायणकी छोरी सरोजिनी मानन्धर थिइन्।
२००२ सालमा खुलेको छात्र तथा छात्रा एकसाथ पढ्ने यो नेपालकै पहिलो स्कुल थियो। यसको स्थापनाका लागि अष्टनारायणले पनि सहयोग गरेका थिए। यसरी पढाइमा परिवारको साथ पाएकी सरोजिनीले साइकल चलाउन पनि छुट पाइन्। देशमा प्रजातन्त्र प्राप्तिको समय उनले सडकमा साइकल गुडाउन थालिसकेकी थिइन्।
सामाजिक कार्यमा लागेकी सरोजिनी कांग्रेस नेता गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंहद्वारा स्थापित नेपाल महिला संघको सक्रिय कार्यकर्ता पनि थिइन्। उनले २०१६ सालतिर डिल्लीबजारको कन्या स्कूल (हालको पद्म कन्या)मा पढाउन थालिन्। उनी साइकलमा नै कलेज जान्थिन्।
तर, सरोजिनीभन्दा अगाडि पनि नेपाली महिलाले साइकल चलाएको पाइन्छ। महेन्द्रका पत्नीद्वय युवराज्ञी इन्द्र राज्यलक्ष्मी तथा बडामहारानी रत्नका बहिनी किशोरी राज्यलक्ष्मीले बागदरबारभित्र साइकल कुदाएको बताइन्छ। उनले १९९९ सालतिर नै साइकल दौडाउन थालिसकेकी थिइन्। त्यसैले उनी नै नेपालकी पहिलो महिला साइकल चालक हुन्। उनी जुद्धशम्शेरकी नातिनी तथा हरिशमशेरकी छोरी हुन्।
१९८७ सालमा जन्मिएकी किशोरी राज्यलक्ष्मीले केवल १२ वर्षको उमेरमा नै बागदरवारको कम्पाउण्डभित्र साइकल कुदाउन थालेकी थिइन्। २००७ सालमा मोहनविक्रम शाहसँग विवाह हुनु अगाडिसम्म उनी साइकल चलाएर काठमाडौँका विभिन्न ठाउँ पुग्थिन्। युवराज दीपेन्द्रकी प्रेमिका भनिएकी सुप्रिया शाह उनकै नातिनी हुन्।
२०३० सालसम्म आइपुग्दा साइकल चलाउने महिलाको संख्या उल्लेख्य भइसकेको थियो। साइकल महिलाहरूको दैनिकी भने बन्न सकेको थिएन। विवाहपछि नयाँ घरमा सासू ससुराबाट साइकल चलाउन बन्देज लगाउने गर्थे। साइकलमा बजार जाँदा छरछिमेकीले कुरा काट्ने समस्या धेरै महिलाले भोगे।
तराईतिर भने २०३० कै दशकतिरबाट महिलाले साइकललाई दैनिक कामकाजको लागि पनि उपयोग गर्न थालिसकेका थिए। बजारमा दुध दही बिक्री गर्न तथा नजिकै वनमा घाँस दाउरा बटुल्न साइकलको उपयोग हुन थाल्यो। जसले गर्दा विवाहमा दाइजोको रुपमा साइकल दिने चलन सुरुवात भयो। पछि त विद्यालय जान, कार्यलय जान पनि साइकल नै प्रयोग हुन थाल्यो। पुरुष मात्र नभइ महिलाले पनि सजिलो दैनिकीका लागि यसैलाई प्रयोग गरे।
साइकल प्रयोग गरेरै सामाजिक अभियानमा लागकी देव कुमारी चर्चित बनिन्। उनी ‘साइकलवाली’ भनेर चिनिन्छिन्। लैङ्गिक हिंसाविरुद्ध सामाजिक चेतना फैलाउँदै उनी साइकलमा गाउँ गाउँ डुल्थिन्। यसरी साइकलका कारण आफ्नो पहिचान र प्रतिष्ठा बनाउने महिला तराईमा अरु पनि भेटिन्छन्। तर, पहाडी भूभागमा साइकल चलाउन कठिनाइ हुने हुँदा चलाउने महिला पनि ज्यादै कम भेटिन्छन्।
भारतमा साइकलको उपयोगबाट साहसी कार्य गर्ने एक किशोरी चर्चामा आएकी थिइन्। कोरोनाको कारण विश्वको अधिकांश भाग ठप्प हुँदा भारतमा पनि यातायात बन्द भएको थियो। दैनिक क्रियाकलाप प्रभावित भएका थिए। त्यस समयमा १३ वर्षकी ज्योति कुमारीले उपचार नपाएका आफ्ना बाबुलाई बोकेर साइकलमा १२ सय किलोमिटर लामो यात्रा गरेकी थिइन्। उनले बाबुलाई भारतको राजधानी दिल्ली नजिकै गुरुग्रामबाट आठ दिन लगाएर साइकलमा आफ्नो गाउँ दरभंगा पुर्याएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।