काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको विषय टुंगो नलागेको भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्थाले विरोध प्रदर्शन गरेका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पिक संघ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीबार त्रिपुरेश्वरस्थित राखेपको परिसरमा विरोध कार्यक्रम आयोजना गरेका हुन्।
प्रदर्शनमा दीपक श्रेष्ठ, दीपक बिष्ट, आयुसा शाक्य, अनु अधिकारी, दीपक महर्जन लगायतका राष्ट्रिय खेलाडीसहित तेक्वान्दोका पोशाकसहित बालबालिका उपस्थित थिए।
कालोपट्टीले हात बाँधेर र्यालीमा सहभागी भएका खेलाडीहरुले ‘राखेपको नेतृत्व विवादका कारण खेलकुदलाई ठप्प नबनाऔं। खेलकुद, खेलाडी र खेलकर्मीको भविष्यमा खेलवाड नगरौं। खेलाडीलाई रोजगारीको व्यवस्था गर।
अपूरो खेलकुद ऐन तुरुन्तै संशोधन गर। खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखौं। लगायतका नारा लगाएका थिए। दशरथ रंगशालाको प्रवेशद्वार अगाडि उनीहरुले धर्नासमेत दिएका थिए।
सत्ता समिकरण फेरिएपछि प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेको निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाललाई गत कार्तिक १ गते बर्खास्त गरेको थियो।
त्यसपछि नयाँ खेलकुद विकास ऐन अनुसार प्रक्रियागत तरिकाले २०७८ मंसिर १३ गते मन्त्रिपरिषद्को निर्णयले नेकपा (माओवादी केन्द्र) नजिक रहेका टंकलाल घिसिङ्गलाई सदस्य सचिवमा नियुक्त गरेको थियो।
सिलवालले आफू नयाँ खेलकुद विकास ऐन २०७७ अनुरुप खुला प्रतिस्पर्धाबाट राखेप सदस्य सचिव पदमा आएको र वर्तमान सरकारले बिना कारण नै पदबाट बर्खास्त गरेको भन्दै नयाँ सदस्य सचिवको नियुक्ति रोक्न भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।
सिलवालले दर्ता गराएको मुद्दाको ५ पटक पेसी तोकिएपनि कुनै निर्णय आउन सकेको छैन। सदस्यसचिव सम्बन्धिको मुद्दा अदालतमा विचाराधिन रहिरहँदा अहिले नेपाली खेलकुद गतिविधि प्राय: शून्य बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।