काठमाडौं- नेकपा माओवादी केन्द्र पार्टीमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो र बाँकी केन्द्रीय सदस्य टुंगो लगाएर मात्रै स्थानीय निर्वाचनबारे रणनीति बनाउन जुट्ने भएको छ।
माघ २७ गते चुनावी प्रतिस्पर्धाबाट पदाधिकारीसहित अन्य कमिटीले पूर्णता पाएपछि माओवादी चुनावी योजनामा लाग्ने भएको हो।
राजधानीमा पुस १२ गते सुरु भएर एक साता भन्दा लामो समय चलेको माओवादी केन्द्रको ८ औं महाधिवेशनले २ सय ९९ मध्ये २३६ जना केन्द्रीय सदस्य सर्वसम्मत रुपमा चयन गरेको थियो। पदाधिकारी र स्थायी समिति चयन नगरी महाधिवेशन सकिएको थियो।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्कुलर जारी गर्दै चुनावी प्रतिस्पर्धाबाट पदाधिकारीसहित अन्य कमिटी छिनोफानो गर्ने बताएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबारको छलफलबाट जेठ ४ गते स्थानीय तहको चुनाव गर्न सहमति जुटेपछि दलहरु अ–आफ्नो रणनीति बनाउन जुटेका हुन्। एमाले, कांग्रेस लगायत दलहरु चुनावी रणनीति बनाउन बठक बस्न थालेका छन्।
तर, माओवादी भने माघ २७ गतेपछि मात्रै स्थानीय निर्वाचन तयारीमा जुट्ने नेता गणेश साहले बताए। ‘हामीले चुनावी रणनीति बनाउनु भन्दा अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो र बाँकी केन्द्रीय सदस्य बनाउने तथा प्रदेश समितिलाई पूर्णता दिन्छौं’ नेपाल लाइभसँग कुरा गर्दै साहले भने, ‘त्यसपछि मात्रै स्थानीय चुनावबारे रणनीति बनाउन पार्टी जुट्नु पर्छ भन्ने छ।’
माओवादी केन्द्रले स्थानीय चुनावमा पाँच दलीय गठबन्धन हुनु पर्ने बताउँदै आएको छ। तर, कांग्रेसभित्रको एक खेमा भने एकल रुपमा लड्नु पर्ने पक्षमा रहेको छ। कांग्रेसभित्र पाँच दलीय मोर्चाबन्दी गर्न एक मत नभएमा माओवादीसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर निर्वाचनमा जाने तयारीमा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।