काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्यत्र सामान्यतया मौसम सफा रहेको महाशाखाको भनाइ छ।
आज (बुधबार) दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम आंशिक बदली रहनेछ।
बाँकी भू–भागहरुमा सामान्य तथा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले केही दिन वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले अझै केही दिन मौसम सुधार नहुने महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।