फाइल तस्बिर
काठमाडौं- नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अफ्रिकी राष्ट्र मरिससविरुद्ध अपेक्षाकृत नतिजा निस्केको बताएका छन्। यद्यपि, दुवै खेल जित्ने अपेक्षा भने नगरेको उनले बताए।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलपछि सञ्रारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। शनिबार भएको खेलमा विमल घर्तीमगर र मंगलबार भएको खेलमा सुजल श्रेष्ठको निर्णयक गोलबाट नेपालले शतप्रतिशत जित निकालेको हो।
‘मेरो योजनामा दुवै जित्ने थिएन। पहिलो खेलअघि कमसेकम एक खेलमा जित निकाल्ने लक्ष्य राखेको थिएँ,’ उनले भने, ‘एक बराबरी हुन्छ भन्ने लागेका थियो। तर, त्यस्तो भएन। आज मैले डिफेन्स खेलाएको थिएँ। त्यही पनि जित निस्कियो।’
उनले अग्रता लिएपछि खेलाडीलाई मैदानमा केही सहज महसुस भएको पनि बताए। पहिलो खेलको तुलनामा दोस्रो खेलमा खेलाडीहरु निडर देखिएकाले आगामी खेलहरु खेल्न सक्षम रहेको प्रमाणित गरेको उनको भनाइ थियो।
‘आज हाम्रो खेलाडीमा डर देखिनँ। शारीरिक रुपमा बलियो टिमविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको छ। अग्रता लिइसकेको अवस्थामा हामीले सहजरुपमा खेल्यौं। नेपाली खेलाडीले राम्रो टोलीसँग पनि लड्न सक्छ भनेर प्रमाणित भएको छ,’ उनले भने।
खेलमा भएको तनावका लागि दुवै पक्षका खेलाडी ५०/५० प्रतिशत जिम्मेवार भएको उनको बुझाइ छ।
‘खेल सकियो अब सबैले कुरा बिर्सनुपर्छ,’ उनले भने, ‘म रेफ्रीको डिसिजन सम्मान गर्छु।’ खेलमा हार जित हुने भन्दै उनले आफूहरु जितका लागि योग्य भएको बताए।
आजको जितसँगै फिफा वरीयतामा पनि दुई स्थान सुधार हुने उनले अपेक्षा राखेका छन्। यता, मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धका दुवै खेलमा केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा हार आत्मसाथ गर्नुपरेको स्वीकार गरे।
‘हामीले राम्रो खेल्यौं, केही अवसर पायौं। गोलको लागि मिहेनत गरे पनि सफल हुन सकेनौं,’ उनले भने, ‘दुवै खेल हारे पनि खेलाडीको आत्मविश्वास बढेको छ।’
उनले आजको खेलमा कार्ड खान लायक खेलाडी मैदानमा रहेको भन्दै रेफ्रीको निर्णयलाई सम्मान गर्ने पनि बताए।
‘रेफ्रीको निर्णयबारे केही भन्दिनँ। मैदानमा कार्ड खान लायक खेलाडी थिए। हामी यो खेलको पछि विश्लेषण गर्छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।