काठमाडौं- नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि अध्ययरत विद्यार्थीहरुले विश्वविद्यालय अनुदान आयोगले संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुलाई विभेद गरेको बताएका छन्। उनीहरुले तत्काल यसलाई नसच्याइए आन्दोलनमा जाने घोषणासमेत गरेका छन्।
आयोगले आह्वान गरेको छात्रवृत्ति तथा अनुदानका प्रस्ताव लिएर कार्यालयमा पुगेका विद्यार्थीहरुलाई आयोगका कर्मचारीहरूले नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीहरूले आयोगबाट प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने र हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता अभिव्यक्ति दिएकोप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्।
उनीहरुले शिक्षामन्त्री, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका शिक्षाध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका अनुसन्धान केन्द्र निर्देशक, विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरका अध्यक्षलाई ध्यानाकर्षण पत्रसहित यसको वास्तविकता विद्यार्थीलाई जानकारी दिन माग गरेका छन्।
उनीहरुले विश्वविद्यालय अनुदान आयोगमा विद्वतवृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन, आयोगद्धारा शोधार्थीलाई प्रदान गरिने विद्वत वृत्ति तथा अन्य छात्रवृत्तिहरूमा विभेद्पूर्ण व्यवहार नगर्न र यसरी प्राप्त गर्ने विद्यावारिधि अन्य विश्वविद्यालयद्धारा प्रदान गरिने विद्यावारिधिसरह मान्यता प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन्।
विश्वविद्यालय अनुदान आयोगद्धारा पहिलेदेखि प्रदान गर्दै आएको विद्वतवृत्ति अनुदान कार्यक्रम हाल हटाइएको र नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका पूर्ववर्ती अध्यताहरूले विद्वतवृत्ति अदालतको आदेशअनुसार न्यायसंगत रूपमा हासिल गरेको परिप्रेक्ष्यमा विश्वविद्यालय अनुदान आयोगको यस अन्यायपूर्ण व्यवहारले मर्माहत बनाएको उल्लेख गर्दै पत्रमा ५ दिनभित्र पूरा नभए आन्दोलनमा जान बाध्य हुने र त्यसको जिम्मेवारी आयोग नै हुनपर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।