फाइल तस्बिर
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन्।
नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराए पनि सन्दीपमात्र मेगा अक्सनका लागि छनोट भएका हुन्।
सन्दीपबाहेक नेपालबाट सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए। तर, सन्दीपबाहेक अन्य खेलाडी 'सर्ट लिस्ट'मा पर्न सकेनन्।
सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) तोकेका छन्। सन्दीपलाई अक्सनमा कुनै टोलीले मूल्य लगाएको खण्डमा कम्तीमा ४० लाख भारु पाउने निश्चित छ। २०२१ मा सन्दीपले ४० लाख भारु नै अक्सनमा राखे पनि बिकेका थिएनन्।
सन्दीपलाई २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो। त्यस सिजनमा दिल्ली लिगबाट बाहिरिएपछि अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएका थिए।
२०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिएका थिए। २०२० मा भने सन्दीपले मौका पाएनन्। २०२१ मा बिक्न सकेनन्। मेगा अक्सनमा कुल एक हजार २१४ खेलाडीले नाम दर्ता गराए पनि सर्ट लिस्टमा ५९० खेलाडी मात्र परेका छन्। जसमा ३५५ अन क्याप्ड छन्। ३७० भारतीय र २२० विदेशी खेलाडी छन्।
अस्ट्रेलियाबाट ४७, अफगानिस्तानबाट १७, बंगलादेशबाट ५, इंग्ल्यान्डबाट २४, आयरल्यान्डबाट ५, न्युजिल्यान्डबाट २४, दक्षिण अफ्रिकाबाट ३३, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३४ र जिम्बावेबाट एक खेलाडी अक्सनमा सहभागी हुने छन्। नामिबियाबाट ३, स्कटल्यान्डबाट २, नेपाल र अमेरिकाबाट १-१ खेलाडी छन्।
१० टोलीले रिटेनमार्फत् ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन्। आईपीएल अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ। यस सिजनदेखि आईपीएलमा १० टोलीको सहभागिता रहनेछ।
एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउने छन्। जसमा ८ विदेशी खेलाडी हुने छन्। १० विदेशी खेलाडी रिटेन भइसकेको अवस्थामा अब ७० विदेशी खेलाडी आईपीएल अक्सनमा बिक्ने छन्। १० टोली हुँदा सन्दीपको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।