प्रधानन्यायाधीश राणा, फाइल तस्बिर
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणाको नाममा थप ३० करोड बराबरको सम्पत्ति (घर/जग्गा) फेला परेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको छ।
अभियन्ता डा गोविन्द केसीले चोलेन्द्रका भाइ प्रभुको नाममा सम्पत्ति भेटिएको सूचना विभागलाई उपलब्ध गराएका हुन्। यसअघि केसीले प्रधानन्यायाधीश राणाको सहयोगमा विचौलियाको रुपमा उनका भाइले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अनुसन्धानका लागि विभागमा उजुरी दिएका थिए।
डा केसी सहितले दर्ता गराएको उजुरीमा प्रधानन्यायाधीश राणाकी श्रीमतीको नाममा समेत गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति रहेकाले त्यसको पनि छानबिन हुनुपर्ने माग गरेका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा २०७८ पुस ११ मा दर्ता भएको उजुरीसँग सम्बन्धित कसूरका सम्बन्धमा पूरक सूचना उपलब्ध गराउनका केसीले विभागमा निवेदन दिएका हुन्।
काठमाडौं महानगरपालिका वडा नम्बर २२ ठेगाना भएका प्रभु शमशेर राणाको नाममा गैरकानुनी असुली लगायत अन्य अवैध स्रोतको आम्दानीबाट विभिन्न ठाउँमा जग्गा र घर रहेको केसीको उजुरीमा उल्लेख छ।
प्रभु शमशेरको नाममा काठमाडौं महानगरपालिका–२९ ठमेलको कित्ता नम्बर १०८५ को ८ आना जग्गासहित घर २०७६ मंसिर २० मा खरिद भएको केसीको निवेदमा दाबी गरिएको छ। यस्तै, काठमाडौंको गोठाटार–८ को कित्ता नम्बर १२४, कित्ता नम्बर ३३ को साढे ३ रोपनी जग्गा समेत गरी ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरु रहेको तथ्य अवगत हुन आएको केसीको निवेदनमा उल्लेख छ।
केसीले दिएको उजुरी (निवेदन)मा प्रभु शमशेर सहितका उनको परिवारका सदस्य, नातेदारका सम्बन्धमा समेत छानबिन गर्न माग गरिएको छ। तत्काल सम्पत्ति रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न तथा अवैध सम्पत्ति जफत गरी दोषीलाई कानुन बमोजिम हदै सम्मको सजाय गर्न पनि उजुरीमा माग गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।