काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताएका छन्।
नेपाली कांग्रेसको बागमती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीलाई भेट्ने क्रममा कांग्रेस सभापति समेत रहेका देउवाले जेठको पहिलो साता निर्वाचन हुने जानकारी गराएका हुन्।
‘जेठको पहिलो हप्ताभित्र निर्वाचन सम्पन्न गर्ने गरी प्रधानमन्त्री तयार हुनुहुन्छ’, कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले भने, ‘निर्वाचनका लागि तयार हुनुहोस् भनी निर्देशन दिनुभएको छ।’
निर्वाचनका लागि तयार रहनुस् भन्ने देउवाको निर्देशनपछि सहभागीले निर्वाचन मंसिरमा हुने होला, होइन र? भनी जिज्ञासा राखेका थिए।
जवाफमा देउवाले दिएको अभिव्यक्ति बारे बानियाँले भने, ‘जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुन्छ। जेठको पहिलो साता भन्दा ढिलो गर्न सकिन्न।’
वर्तमान राजनीतिक अवस्था र पार्टीको बागमती प्रदेशमा स्थितिबारे देउवाले प्रदेश कार्यसमितिका पदाधिकारीसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।