काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कप्तानी भूमिका पाएपछि आफूलाई खासै कुनै कठिन नभएको बताएका छन्।
सोमबार भर्चुअल (जुम)मार्फत् पत्रकारसँगको कुराकानीमा सन्दीपले सबैजना चिनेको र धेरै समयदेखि सँगै खेलिरहेको कुनै कठिन नहुने तर्क गरेका हुन्।
‘कप्तानी भूमिका पाएपछि साँच्चै भन्दा मलाई त्यस्तो कुनै कठिन भने भएको छैन। सबैजना चिनेको छु। धेरै समयदेखि सँगैखेलिराखेका हौं,’ उनले भने,‘मेरो योजना फरक हुनसक्छ। तर मैले उहाँहरुको पनि योजना सुन्नुपर्छ। मेरो लागि कप्तानी देशको लागि नयाँ अनुभव हुनेछ। ’
उनले टोलीमा सिनियर खेलाडी हुनु राम्रो कुरा रहेको बताउँदै सबैको विचारलाई सम्मान गर्दै अगाडि बढ्ने बताए।
‘यति बेला ज्ञानेन्द्र मल्लदाई, शरद दाई सबैजनाको अनुभव मान्य हुन्छ। उहाँहरुसँग योजना गर्न पाउछु। उहाँहरुलाई केही लाग्न सक्छ। सबैजनाहरु मिलेर एउटा राम्रो नतिजा ल्याउनु पर्छ,‘ उनले भने,‘हामीले सबैको विचारलाई सम्मान गर्दै अघि बढ्नुपर्ने आवश्यक छ।’
उनले आफू एउटा उर्जा लिएर आएको बताउँदै टोलीलाई विश्वकपमा पुर्याउने प्रतिवद्धता जनाएका छन्। ‘म नेपाली क्रिकेटको लागि जति हुनसक्छ योगदान दिन चाहन्छु। यहाँसम्म आउनुमा मेरो लागि गर्वको कुरा हो,’ उनले भने,‘हामी विश्वकपमा पुग्छौं र त्यहाँ गएर पनि राम्रो गर्ने छौं भने पक्कैपनि नेपाली क्रिकेटको लागि राम्रो संकेत हुनेछ।’
उनले अहिलेका लागि पहिलो मुख्य लक्ष्य एसोसियट देशको उत्कृष्ट हुने रहेको पनि सुनाए। ‘यदि हामी भोली गएर ठूला देश वा उच्च स्तरको क्रिकेट खेल्न चाहन्छौं भने आउने जतिपनि खेलहरु हुन्छ त्यो जित्न निकै महत्वपूर्ण छ। अहिलेका लागि पहिला हाम्रो मुख्य लक्ष्य एसोसियट देशको उत्कृष्ट हुनुपर्ने हुन्छ। जुन तरिकाले अहिलेको समयमा भारतले हार्दा अरुलाई दुःख लाग्न त्यसरीनै नेपालले हार्दा अरुलाई दुःख लागोस्,’ उनले भने।
नेपालले विश्वकप अघि ओमान, आयरल्यान्ड र युएईसँग टी२० आई खेल खेल्नेछ। त्यसमा सन्दीपले सबैलाई समान अवसर दिने र त्यसबाट आफ्नो उत्कृष्ट ११ छान्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।