काठमाडौं- सरकारले एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको विजेता टोलीलाई आगामी शुक्रबार सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता महिला भलिबल टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्ने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
बंगलादेशको राजधानी ढाकामा गत पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले फाइनलमा किर्गिस्तानलाई हराउँदै उपाधि जितेको थियो। टोलीले राष्ट्रको गौरव बढाएको जनाउँदै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गर्न लागेको हो।
उक्त प्रतियोगितामा सहभागी १२ खेलाडीलाई जनही ५ लाख तथा प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई ३/३ लाख तथा टोली व्यवस्थापकलाई २ लाख प्रदान गर्ने कार्यक्रम छ।
टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु थिए।
टोलीमा प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।