फाइल तस्बिर
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्न सरकारलाई आग्रह गरेकी छन्।
सोमबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताएकी हुन्। उनले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने बताइन्।
उनले भनिन्, ‘स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ। त्यही पनि विगतदेखि हामीले भनि नै आएका छौँ, स्थानीय निर्वाचन वैशाखको महिनाभित्र सक्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने नेकपा(एमाले)को कुरा हो। हामी त्यो पक्षमा बारम्बार बोलिरहेका छौँ। र, पर्सीको बैठकबाट पनि हामीले त्यो विषयलाई मुख्य रुपमा अगाडि बढाउँछौँ।’
सचिव अर्यालले एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भए पनि संसद्मा दर्ता हुने/नहुने यकीन नभएको बताइन्। एमसीसी संसद्मा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनको भनाइ थियो।
पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।