काठमाडौं– नेकपा एकीकृत समाजवादीनिकट अखिल नेपाल किसान महासंघले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा पेस नगर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष बलराम बास्कोटाले सोमबार विज्ञप्ति जारी गर्दै कथंकदाचित संसद्मा पेस गरियो भने पनि कुनै हालतमा पास नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।
एमसीसी सम्झौताले नेपालको सुरक्षा र राष्ट्रिय हितमा मात्र नभई दक्षिण एशिया र छिमेकी राष्ट्र चीनको समेत शान्ति सुव्यवस्थामा गम्भीर रुपमा आँच पुग्ने महासंघले जनाएको छ।
‘महासंघ राजनीतिक पार्टीका नेताहरुलाई यस राष्ट्रघाती सम्झौताको विपक्षमा उभिन तथा पास नगर्नका लागि ह्विप जारी गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतन्त्रलाई सुदृढ गर्दै राष्ट्रियताको पक्षमा अग्रसर भइरहेको वर्तमान परिस्थितिमा देशी–विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीहरुबाट एमसीसीका नाममा भइरहेको षड्यन्त्रप्रति सजग हुन सम्पूर्ण जनसमुदायमा महासंघ हार्दिक अपिल गर्दछ।’
यो विषय संसद्भित्र छलफल र अनुमोदन गर्ने विषय नभएको र यसलाई संसद्बाट अनुमोदन गरिनुपर्ने विषय बनाई नेपालको संविधान र सार्वभौम संसद् भन्दामाथि अमेरिकी कानुन र यसका प्रावधान लागू हुने व्यव्स्था गरिएको महासंघको भनाइ छ।
‘नेपालले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई अंगालेको सन्दर्भमा नेपाल कुनै सैन्य गठबन्धनमा संलग्नता हुने छैन। तर, एमसीसी अमेरिकाको ईण्डोप्यासिफिक रणनीति (आईपीएस) को अंगको रुपमा रहने अमेरिकी रक्षा मन्त्रालयले उल्लेख गरेबाट सैन्य गठबन्धनसँग सम्बद्व विकास परियोजनामा नेपालको सहभागिता रहनु हुँदैन र यो नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत छ’, किसान महासंघले भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।