काठमाडौं– चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउन महानगरीय प्रहरी परिसरले अनुरोध गरेको छ।
परिसरले एक सूचना जारी गर्दै चिसो बढिरहेको समयमा यसबाट जोगिन प्रयोग गरिने हिटर, कोइलालगायत सामग्री प्रयोग गर्दा कोठामा अक्सिजन नष्ट हुनाका साथै कार्बन मोनोअक्साइडसमेत बनेर मानवीय क्षति गराउन सक्ने भन्दै त्यसतर्फ सावधानी अपनाउन आग्रह गरेको हो।
यस्ता गतिविधिले कोठाभित्र अक्सिजन कम हुँदै जाँदा सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र निस्सासिएर बेहोस् भई अन्ततः मानिसको मृत्युसमेत हुन सक्ने भन्दै परिसरले त्यसप्रति सचेत हुन भनेको छ।
मुख्यगरी आफूबाहिर निस्किँदा बन्द कोठामा हिटर बालेर नछाड्न, ढोका झ्यालका छिद्राहरूमा बोरा, कपडा राखी हिटरलगायतका विद्युतीय उपकरण नबाल्न, चुलो, मकल, कराइमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्न, झ्याल ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न, विद्युतीय उपकरणमा काम सकाएपछि पनि स्विच अन गरेर नछाड्न र ग्यास सिलिन्डरलाई काम सकिएपछि बन्द गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।
यस्तै प्रहरीले चाँडै जल्ने सामग्री चुलो नजिक नराख्न पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।