काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्।
आइतबार मन्त्री पौडेलले केशरमहलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन्।
उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशरमहल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए।
उनले सरकारी संरचनाहरु नियमविपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि बताए।
मन्त्री पौडेलले केशरमहलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय काम व्यवस्थित गर्न भौतिक ठाउँको अभाव भएको उल्लेख गरे। उनले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्नेगरी लाग्न निर्देशन पनि दिए।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ। केशरमहलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलमा स्वप्न बगैँचा विकास समितिलाई केशरमहल विकास समिति बनाएर भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ।
केशरमहल ३४ रोपनी, दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ स्थित स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।