काठमाडौं– सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्।
सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले सहिदको समना पूरा गर्न सकेमात्र उनीहरुप्रति सच्चा श्रद्धfञ्जली हुने बताएकी छन्। यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेकी छन्।
सहिदहरूले गरेका बलिदानको उच्च मूल्यांकन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउनु सबैको कर्तव्य भएको राष्ट्रपतिको भनाइ छ। सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशासमेत उनले व्यक्त गरेकी छन्।
सहिद दिवस, २०७८ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपतिले श्रद्धाञ्जलि अर्पण गरेकी छन्।
सहिद दिवस देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको स्मरण गर्दै उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।